ओखलढुङ्गा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरिरहेको **‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत ओखलढुङ्गाका विभिन्न स्थानीय तहमा भेटघाट, छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।

रास्वपा जिल्ला कार्य समिति ओखलढुङ्गाले जारी गरेको सूचनाअनुसार अभियानअन्तर्गत पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरू स्थानीय तहको भूगोलमा प्रत्यक्ष उपस्थित भई स्थानीय जनता, पार्टीका नेता–कार्यकर्ता तथा नगर/पालिका तहका संगठनसँग भेटघाट, छलफल र अन्तरक्रिया गर्नेछन्।
जिल्ला कार्य समितिका अनुसार कार्यक्रम २०८३ साल असोज २४ गतेदेखि असोज २८ गतेसम्म ओखलढुङ्गाका विभिन्न स्थानीय तहमा सञ्चालन हुनेछ।
कार्यक्रम तालिकाअनुसार असोज २४ गते मानेभञ्ज्याङ गाउँपालिकामा दिउँसो ३ बजे कार्यक्रम हुनेछ। त्यस्तै, असोज २५ गते सिद्धिचरण नगरपालिकामा बिहान ८ बजे र चिशंखुगढी गाउँपालिकामा दिउँसो २ बजे कार्यक्रम राखिएको छ।
यसैगरी असोज २६ गते मोलुङ गाउँपालिकामा बिहान ७ बजे र सुनकोशी गाउँपालिकामा दिउँसो १ बजे, असोज २७ गते चम्पादेवी गाउँपालिकामा बिहान ७ बजे र लिखु गाउँपालिकामा दिउँसो ३ बजे कार्यक्रम हुने सूचनामा उल्लेख छ।
अभियानको अन्तिम दिन असोज २८ गते खिजिदेम्बा गाउँपालिकामा बिहान ९ बजे भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ।
जिल्ला कार्य समितिले उक्त कार्यक्रममा सम्बन्धित नगर तथा गाउँपालिका कार्य समितिका सभापति/संयोजक, पदाधिकारी, सदस्य, पार्टी सदस्य, समर्थक, शुभचिन्तक तथा शुभेच्छुकलाई सहभागी हुन जानकारी गराएको छ।
रास्वपा जिल्ला कार्य समिति ओखलढुङ्गाले २०८३ असोज २२ गते जारी गरेको सूचनामा यी कार्यक्रमहरू ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत देशव्यापी रूपमा सञ्चालन भइरहेको उल्लेख गरिएको छ।





Leave a Reply