ओखलढुङ्गा — जल तथा मौसम विज्ञान विभागले देशका १५ जिल्लामा रेड अलर्ट जारी गर्दै भारी वर्षा तथा सम्भावित विपद्बाट सतर्क रहन आग्रह गरेको छ।
विभागका अनुसार असोज ९ गते शुक्रबारदेखि असोज ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, मधेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षा तथा कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
रेड अलर्ट जारी गरिएका जिल्लामा दार्चुला, बझाङ, हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, गोरखा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ र बाजुरा रहेका छन्।
भारी वर्षाका कारण बाढी, पहिरो तथा भू–क्षयको जोखिम बढ्न सक्ने विभागले जनाएको छ। सहरी तथा तराईका क्षेत्रमा डुबानको जोखिम रहनुका साथै साना तथा ठूला नदीमा जलसतह बढ्न सक्ने भएकाले नदी आसपासका क्षेत्र तथा निर्माणाधीन सडकमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
वर्षाका कारण सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने विभागले जनाएको छ। साथै, हिमाली क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना रहेकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।







Leave a Reply