काठमाडौँ । नेकपा (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज ५ देखि ८ गतेसम्म ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बसेको बैठकले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।
बैठकले ११औँ महाधिवेशनपछि केन्द्रीय कमिटीमा मनोनीत हुन बाँकी रहेका नेताहरूको समेत टुङ्गो लगाएको छ। सोही क्रममा पार्टीकी पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अध्यक्षपछिको दोस्रो वरीयतामा रहने गरी ‘वरिष्ठ नेता’ पदमा मनोनीत गरिएको छ।
बैठकबाट सात जना नेतालाई स्थायी कमिटी सदस्यमा चयन गरिएको छ। स्थायी कमिटी सदस्यमा ईश्वर पोखरेल (काठमाडौं), प्रदीप ज्ञवाली (गुल्मी), काशीनाथ अधिकारी (चितवन), देवराज घिमिरे (झापा), शिवमाया तुम्वाहाम्फे (मोरङ), लालबाबु पण्डित (मोरङ) र थममाया थापा (म्याग्दी) चयन भएका छन्।
त्यस्तै, केन्द्रीय कमिटी सदस्यमा विभिन्न जिल्लाका २० जना नेता मनोनीत भएका छन्। मनोनीत हुनेमा काशीनाथ अधिकारी (चितवन), देवराज घिमिरे (झापा), हरि रिजाल (प्युठान), पासाङ शेर्पा (ताप्लेजुङ), नरेन्द्र भट्टराई (इलाम), नन्दराम देवकोटा (खोटाङ), धर्म गिरी (प्युठान), नारायण घर्ती (जाजरकोट), विद्यासुन्दर शाक्य (काठमाडौं) र शान्तिलाल महत (जुम्ला) छन्।
यसैगरी पोल्तेन छेपाङ गुरुङ (मनाङ), प्रेम दङ्गाल (काठमाडौं), सुरेन्द्र उदास (भोजपुर), विनोद पाण्डे (काठमाडौं), पुष्पराज श्रेष्ठ (सिन्धुली), विमला घिमिरे (कपिलवस्तु), शिवमाया तुम्वाहाम्फे (मोरङ), कौशिला खत्री (जाजरकोट), जानुका सिम्खडा (धादिङ) र बिना बास्तोला (भक्तपुर) केन्द्रीय कमिटी सदस्यमा मनोनीत भएका छन्।
बैठकको समापन गर्दै अध्यक्ष ओलीले तेस्रो केन्द्रीय कमिटी बैठकले पार्टीभित्र उन्नतस्तरको समझदारी र सुदृढ एकता रहेको पुष्टि गरेको बताए। उनले बैठकमा सहभागी सम्पूर्ण केन्द्रीय सदस्यप्रति आभार व्यक्त गर्दै पार्टीको आगामी दिशा स्पष्ट भएको उल्लेख गरे।
यसैबीच, बाँकी कार्यसूचीमध्ये स्थायी कमिटीलाई पूर्णता दिने, पोलिटब्युरो गठन गर्ने तथा सल्लाहकार परिषद्, केन्द्रीय विभाग र ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गर्ने विषयमा निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीले सचिवालयलाई दिएको छ।






Leave a Reply