ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकाले सांकेतिक भाषा दोभाषे पदमा एक जना कर्मचारी सेवा करारमा नियुक्त गर्ने भएको छ।
नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा १०+२ वा सोसरह उत्तीर्ण गरेका योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।
नगरपालिकाका अनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् २०८३ असोज २६ गतेसम्म कार्यालय समयमा आवेदन दिनुपर्नेछ। उक्त दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्टसम्म आवेदन दिन सकिनेछ।
पदका लागि रु. ५०० आवेदन दस्तुर तोकिएको छ। एक जना सांकेतिक भाषा दोभाषे नियुक्त गरिने सूचनामा उल्लेख छ।

उम्मेदवारले राष्ट्रिय बहिरा महासंघ, जिल्ला बहिरा संघ वा अन्य मान्यता प्राप्त संस्थाबाट सञ्चालित कम्तीमा तीन महिनाको नेपाली सांकेतिक भाषा तालिम प्राप्त गरेको हुनुपर्नेछ। साथै नेपाली सांकेतिक भाषामा प्रभावकारी सञ्चार गर्न सक्ने, दृष्टि तथा बोलीसम्बन्धी स्पष्ट क्षमता भएको र सूचना तथा सञ्चार प्रविधिको आधारभूत ज्ञान भएको हुनुपर्नेछ।
आवेदनका लागि उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपाङ्गता भएका उम्मेदवारको हकमा अधिकतम उमेर ४० वर्ष तोकिएको छ।
छनोट प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन र अन्तर्वार्तामार्फत गरिने नगरपालिकाले जनाएको छ। अन्तर्वार्ताको मिति, समय र स्थान भने पछि प्रकाशन गरिनेछ।
आवेदन फाराम सिद्धिचरण नगरपालिकाको कार्यालय तथा वेबसाइटबाट प्राप्त गर्न सकिनेछ। कार्यालयले अनलाइन माध्यमबाट पनि आवेदन पठाउन सकिने जनाएको छ। त्यसका लागि आवेदन फाराम भरी आवश्यक कागजात स्क्यान गरी दस्तुर बुझाएको प्रमाणसहित siddhicharanmunicipality@gmail.com मा पठाउन सकिनेछ।

नगरपालिकाले उक्त कर्मचारीको तलब तथा सेवा सुविधा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयबाट स्वीकृत बहिरा तथा स्वरबोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुका लागि सञ्चार व्यवस्थापन कार्यक्रम सञ्चालन मार्गदर्शन पुस्तिका–२०८३ तथा नगरपालिकाले तोकेबमोजिम हुने जनाएको छ।
आवेदन तथा थप जानकारीका लागि सिद्धिचरण नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण उपशाखामा सम्पर्क गर्न सकिनेछ। सम्पर्क नम्बर ९८४२९४०६०७ रहेको छ।
प्रकाशित मिति: २०८३ असोज १२








Leave a Reply