काठमाडौं । भारी वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम बढेपछि गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि १० बुँदे सर्कुलर जारी गरेको छ।
सर्कुलरमार्फत जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन तथा सुरक्षाकर्मीलाई जुनसुकै बेला परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। त्यस्तै, जिल्लास्थित अस्पताल, नर्सिङ होम, स्वास्थ्य केन्द्र तथा एम्बुलेन्सलाई समेत तयारी अवस्थामा राख्न भनिएको छ।
गृह मन्त्रालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ र जिल्लागत कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रशासनलाई निर्देशन दिएको छ।
साथै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसमसम्बन्धी सूचना तथा यात्रा सुझाव सर्वसाधारणसम्म पुर्याउन भनिएको छ।
भारी वर्षाको जोखिम रहेका क्षेत्रमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई सचेत गराउन पनि जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइएको छ।
त्यसैगरी, जोखिमयुक्त अवधिमा पर्यटक तथा सर्वसाधारणलाई ट्रेकिङमा नजान आग्रह गर्न र ट्रेकिङमा गइसकेकालाई सुरक्षित स्थानमा फर्काउन आवश्यक सहजीकरण गर्न भनिएको छ।
भारी वर्षाको पूर्वानुमान भएका क्षेत्र तथा नदी–खोला किनारका बस्तीमा माइकिङमार्फत तत्काल सूचना प्रवाह गर्ने, नदी तटीय क्षेत्रमा टोली परिचालन गरी स्थानीयलाई सतर्क गराउने र जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउन प्रशासनलाई निर्देशन दिइएको छ।
सर्कुलरमा महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकालाई विपद्का समयमा विशेष जोखिम हुने भएकाले उनीहरूको सुरक्षामा प्राथमिकता दिन सम्बन्धित निकाय तथा संघसंस्थासँग समन्वय गर्न पनि भनिएको छ।
प्रकाशित मिति : २०८३ असोज ८ गते






Leave a Reply